पृष्ठभूमि
सुर्खेत जिल्ला भित्री मधेशको एक जिल्ला हो । यो जिल्ला समुद्री सतहबाट १९८ मिटरदेखि २,३६७ मिटरसम्मको उचाईमा रहेको छ । पहाड र तराईको मिश्रित खालको धरातलीय बनोट र हावापानी देख्न सकिन्छ । यो जिल्लाको पुर्व-पश्चिम अधिकतम लम्बाई ११५ कि.मि. र उत्तर-दक्षिण अधिकतम चौडाई ३७ कि.मि. रहेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्ला, सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगर हो । वीरेन्द्रनगर नगरपालिका सदरमुकामको रुपमा स्थापना वि.स.२०३३ सालमा भएको हो । नेपालको राजधानी काठमाडौँदेखि लगभग ६०० कि.मी. उत्तर पश्चिममा र समुद्री सतहदेखि लगभग ६६५ मी. उचाईमा अवस्थित उत्तरमा महाभारत पर्वतको रानीमत्ता, रातानाङ्ला र दक्षिणमा चुरे पहाडको हर्रे, देउरालीका सुन्दर पहाडले घेरिएको कचौरा आकारमा दक्षिणतर्फ ढल्किएको सानो, न धेरै जाडो हुने न धेरै गर्मी हुने सुन्दर उपत्यका हो । बाह्र बण्डाल अठार खण्डालको नामले परिचित यो सुर्खेत जिल्ला वि.सं. २०१६ साल अघि दैलेख जिल्ला अन्तर्गत रहेको थियो । नेपाल राज्यलाई १४ अञ्चल ७५ जिल्लाको प्रशासनिक विभाजन पश्चात १७ वटा तत्कालीन गाउँ पञ्चायत र यसको जम्मा क्षेत्रफल ९५४ बर्गमिल रहने गरी घोषणा गरिएको यस जिल्लाको समय-समयमा सिमाना थपघट हुँदै हाल यसको जम्मा क्षेत्रफल २,४५१ वर्ग कि. मी. रहेको छ । मिति २०७३ फागुन ९ गतेको नेपाल सरकारको निर्णयानुसार स्थानीय तह पुनर्संरचनामा ४ वटा गाँउपालिका र ५ वटा नगरपालिकाहरूमा बाँडिएको (कुल वडा ९९) छ। यस जिल्लाको पूर्वमा भेरी र पश्चिममा कर्णाली नदी पर्दछन् । यो जिल्लाको उत्तरपूर्वमा महाभारत श्रृङ्खला र दक्षिण पश्चिममा चुरे पर्वत पर्दछन् । कही बेसी, कही पहाडी क्षेत्र रहेको यसको पूर्ब सिम्तादेखि पश्चिम चौकुनेसम्म लम्बिएको यसको भु-वनोट झट्ट हेर्दा लगभग इट्टा आकारको छ । यस जिल्लाको पुरानो नाम दोभानचौर हो ।
यसको भौगालिक अवस्थिति २८०२०’’ – २८०५८’’ उत्तरी अक्षांश र ८००५९’’–८२००२’’ पूर्वी देशान्तरभित्र रहेको छ । समुन्द्र सतहबाट १९८ मी.देखि २३६७ मी. सम्मको उचाईमा रहेको छ । यस जिल्लाको पुर्वमा सल्यान र जाजरकोट, पश्चिममा कैलाली, डोटी र अछाम, उत्तरमा दैलेख, दक्षिणमा बाँके र बर्दिया जिल्लाहरू पर्दछन ।
भौगोलिक दृष्टिकोणले सुर्खेत जिल्लालाई ३ भागमा विभाजन गर्न सकिन्छ । जसमा जिल्लाको उत्तरी भागमा महाभारत श्रृङ्खला रहेको छ । महाभारत श्रृङ्खला भित्र सुर्खेत जिल्लाको १,००० देखि २,३६७ मिटर उचाई सम्मको करिब ४३ प्रतिशत भु-भाग रहेको छ। यस जिल्लाको साविकको लेखगाँउ, जर्वुटा, नेटा, अवलचिङ, पाम्का, मटेला, रजेना, गर्पन, राकम, काप्रिचौर, छाप्रे, लेखफर्सा, गुमी, रानीवास पर्दछन् । दोश्रो भौगोलिक क्षेत्र अन्तर्गत मध्य मैदानी उपत्यका तथा पहाडी क्षेत्र रहेको छ । यस क्षेत्रले जिल्लाको लगभग ४२ प्रतिशत भू-भाग ओगटेको छ। यो भू -भाग जिल्लाको मध्य भागमा समुद्र सतहबाट लगभग २५० देखि १,००० मिटरसम्मको उचाइमा पर्दछ । साविकका दशरथपुर, लेखफर्सा, गुमी, रामघाट, मेहलकुना, मैनतडा, घुमखहरे, सहारे, वीरेन्द्रनगर, लाटीकोइली, छिन्चू, उत्तरगंगा, कुनाथरी, घाटगाँउ, बाबियाचौर, सालकोट, गुटु, विद्यापुर, कल्याण आदिका धेरैजसो भूभाग यस क्षेत्रमा पर्दछन् । तेश्रो भौगोलिक क्षेत्र अन्तर्गत चुरे श्रृङ्खला पर्दछ । सुर्खेत जिल्लाको दक्षिण भागमा अवस्थित १,००० देखि १,५०० मिटर सम्मको उचाईमा रहेको यस क्षेत्रले जिल्लाको लगभग १३ प्रतिशत भू-भाग ओगटेको छ । यस भू-क्षेत्र भित्र साविकका लेखपराजुल, तातापानी, हरिहरपुर तथा छिन्चू र वीरेन्द्रगर नगरपालिकाको केही क्षेत्र पर्दछन् ।
वि.सं.२०६८ सालको जनगणना अनुसार जिल्लाको कुल जनसंख्या ३,५०,८०४ रहेको छ । जसमध्ये पुरुष १,६९,४२१ तथा महिला १,८१,३८३ रहेका छन् । यस जिल्लामा रहेको शहरी क्षेत्रको क्षेत्रफल ३४ बर्ग कि.मि. छ भने ग्रामीण क्षेत्रको क्षेत्रफल २,४१७ बर्ग कि.मि. रहेको छ । यस जिल्लालाई प्रतिनिधि सभा सदस्यका लागि २ वटा निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्य निर्वाचनका लागि ४ वटा क्षेत्रमा विभाजन गरिएको छ । यस जिल्लामा मुख्य गरी ब्राम्हण, क्षेत्री, मगर तथा दलित जातिहरू बसोवास गर्दछन् ।
देश संघात्मक व्यवस्थामा गएपश्चात सार्वजनिक सेवा प्रवाह गर्ने संरचना समेतको तहगत बाडफाँड हुने क्रममा प्रदेश सरकारको कार्यक्षेत्र भित्र समाहित भएको उद्योग, वाणिज्य तथा उपभोक्ता हितको कार्यभार सम्हाली रहेको साविक घरेलु तथा साना उद्योग विकास समिति र विभागतर्फका कार्यालयहरू कर्णाली प्रदेश सरकारको मिति २०७६ साल भाद्र ६ को निर्णयले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय तथा निर्देशनालयमा रुपान्तरित भएको हो ।
कर्णाली प्रदेशको स्थापनासंगै कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत रहनेगरी स्थापना भएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले लघु, घरेलु, साना उद्योगहरूको प्रवर्द्धन र विकास कार्य प्रभावकारी रुपमा सञ्चालन गर्ने, गराउने । प्रचलित सङ्घीय एवम् प्रदेश कानून बमोजिम उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण सम्बन्धी कार्य गर्ने ।
साविक घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, सुर्खेतबाट उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षणका सम्बन्धमा सम्पादन गर्दै आइरहेका प्रचलित कानुन बमोजिम काम कार्वाहीहरू गर्ने, साथै उद्यमी सृजना गर्न आवश्यक पर्ने उद्यमशीलता विकास तथा सिप विकास तालिम आदि सञ्चालन गर्ने, जिल्लास्थित उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयहरूको प्रशासनिक विषयहरूमा नियमित अनुगमन तथा निरीक्षण गर्ने र सोको जानकारी मन्त्रालयलाई गराउने, जिल्लास्थित सबै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयहरुसँग समन्वय गरी नीति, कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयनको व्यवस्था मिलाउने कार्य गर्ने गरी यस निर्देशनालयको स्थापना भएको हो ।